झापा, ३ भदौ । झापामा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको चर्को विरोध भएको छ ।
जिल्लामा राष्ट्रिय युवा संघ र अनेरास्ववियुले अध्यादेश फिर्ताको माग गर्दै विरोध जनाइरहेका छन् ।
झापामा मंगलवार र बुधबार नै विभिन्न ठाउँमा आयोजित विरोधसभामा अध्यादेश ल्याएर परमादेश सरकारले एमालेभित्र खेल्न खोजेको आरोप लगाएका छन् । बुधबार पनि जिल्लाको विभिन्न ठाउँमा सरकारले दल विभाजन सम्बन्धी ल्याएको अध्यादेशको विरोध गरिएको छ ।
कनकाईको सुरुङामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता पर्वतराज भडारीले अध्यादेश ल्याएर परमादेश सरकारले प्रतिगमनको बाटो तय गरेको आरोप लगाएका छन् । उनले सरकारलाई गलत बाटो रोजे सडकबाटै सत्ता ढालिदिने चेतावनी दिएका छन् । उनले माधव कुमार नेपाल समुहले नयाँ पार्टी बनाउँदा एमाले जोडेकोमा आपत्ति जनाएका छन् ।
फागुन २३ को नजिरले एमाले जोड्न नमिल्ने भन्दै भण्डारीले नेपाल समूहलाई होली वाइन पार्टी र चुनाव चिन्ह बाइबल राख्न सूझाव दिएका छन् । विरोधसभालाई सम्बोधन गर्दै भण्डारीले भने, नेपाल समूहले माग गरे बमोजिम निर्वाचन आयोगले एमाले जोडेर नयाँ पार्टीको नाम दिन मिल्दैन ।
यसैवीच, दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले झापाको मेचीनगरमा बुधबार साँझ विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको आयोजनामा काँकरभिट्टामा भएको प्रदर्शनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश जनघाती रहेको भन्दैं र सरकारी दमनको विरुद्घ देशव्यापी आन्दोलन गर्ने संघको निर्णय अनुसार काँकरभिट्टामा प्रदर्शन गरिएको हो ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले देशभर विरोध गर्ने जनाएको छ ।
जयसिहं धामीलाई न्याय दे, दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर लगायतका नारा लेखिएका प्ले कार्डसहित निस्केको र्यालीले काँकरभिट्टा बसपार्क, बाहुनडाँगी रोड, गुँरासपथ लगायतका मुख्यः भागको परिक्रमा गरेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य अनिता कन्दङ्वाको उपस्थितीमा भएको कार्यक्रमा संघका जिल्ला कमिटी सदस्य एवम् क्षेत्रीय इञ्चार्ज नारायण खनाल, संघका जिल्ला कमिटी सदस्य एवम् नगर इञ्चार्ज सञ्जय मेचे, मेचीनगर अध्यक्ष मानबहादुर तामाङ तथा संघको वडातहका अध्यक्ष र पार्टीका जिल्ला नेताहरुको सभागिता रहेको थियो ।
सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ९५ जना केन्द्रीय सदस्यलाई समेटेर नयाँ पार्टी दर्ता गराएका छन् ।
Discussion about this post