भारत, ७ भदौ । भारतमा सरकारले बनाएको विज्ञहरूको एउटा टोलीले आगामी अक्टुबरमा कोरोना भाइरसको तेस्रो लहर उत्कर्षमा पुग्ने र बालबालिका बढी प्रभावित हुने निष्कर्ष निकालेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार नेशनल इन्स्टिच्युट अफ डिजास्टर म्यानेजमेन्ट अन्तर्गत बनेको उक्त विज्ञ टोलीले आफ्नो प्रतिवेदन प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा बुझाएको छ ।
विज्ञहरूले तेस्रो लहरको सामना गर्न बच्चाहरूका डाक्टर, अन्य मेडिकल स्टाफ, भेन्टिलेटर, एम्बुलेन्स र अरू स्वास्थ्य सामग्रीको अहिलेदेखि नै प्रबन्ध गर्न सुझाव दिएका छन् । अहिले भएको जनशक्ति र स्वास्थ्य सामग्री तेस्रो लहर धान्न पर्याप्त नहुने उनीहरूको भनाइ छ ।
विज्ञहरूले बच्चाहरूलाई पनि कोरोना खोप लगाउन जोड दिनु पर्ने बताएका छन् । भारतमा अहिलेसम्म बच्चाहरूलाई कोरोनाको खोप लगाउन थालिएको छैन । वयस्क मानिसहरूले पनि कोरोनाको खोप लगाउने क्रम निकै सुस्त भएकाले तेस्रो लहरले धेरै क्षति गर्न सक्ने विज्ञहरूले बताएका छन् ।
यसअघि पनि अक्टुबरमा भारतमा कोरोनाको तेस्रो लहर उत्कर्षमा पुग्ने कुरा विभिन्न अध्ययनहरूले देखाउँदै आएका थिए । सरकारले बनाएको विज्ञ टोलीका सदस्यहरू पनि सोही कुरामा सहमत भएका हुन् । विज्ञहरूले तेस्रो लहरमा आउने कोरोनाको नयाँ भेरियन्ट पनि निकै संक्रामक हुने बताएका छन् ।
केही महिनाअघि भारतमा कोरोनाको दोस्रो लहर फैलिएको थियो । भारतमै उद्गम भएको डेल्टा भेरियन्टले भारतमा पहिलो लहरभन्दा निकै बढी क्षति पुर्याएको थियो । दोस्रो लहरका बेला भारतमा एकैदिन ४ लाखभन्दा बढी संक्रमित थपिएका थिए ।
भारतमा अहिलेसम्म ३ करोड २४ लाख ४८ हजार मानिसलाई कोरोना संक्रमण भएको छ । तीमध्ये ४ लाख ३४ हजारले ज्यान गुमाएका छन् । अहिले पनि भारतमा दैनिक २० हजार बढी संक्रमित थपिन्छन् भने सयौंले ज्यान गुमाइरहेका छन् ।
Discussion about this post