झापा, ७ भदौ । बिर्तामोड स्थित टाइमलेस होटलमा खोपसहित भेटिएका नगरपालिकाका फोकल पर्सन घटनाको छानवीन प्रतिवेदन आज सार्वजनिक गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा खोप होटलमै लगाउने गलत मनसायले नपुर्याइएको जनाइएको छ ।
संयोजक रिमालले गलत मनसायले होटलमा खोप पुर्याएको नभए पनि चरम लापरवाही भने देखिएको बताए । उनले प्रमुख जिल्ला अधिकार श्रवणकुमार तिम्सिनालाई प्रतिवेदन हस्तान्तरण गर्दै खोप पठाउने जनस्वास्थ्य कार्यालय र फोकल पर्सन ओम खड्काको गम्भीर त्रुटि देखिएको बताए ।
प्रमुख जिल्ला अधिकारी तिम्सिनाले प्रतिवेदन बुझ्दै सो बारे मंगलबार हुने कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकमा छलफल गरी प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइने बताए ।
जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, डीएसपी राकेश थापा, सशस्त्र डीएसपी प्रेम प्रसाई र अनुसन्धान अधिकृत किरण भट्टराई रहेको समितिले बिर्तामोड नगरपालिकालाई पठाएको १०३ भाइल खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटी भएको देखिएकाले खोप बुझाउने र बुझ्ने दुवै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न सुझाव दिएको छ ।
Discussion about this post