मेचीनगर, १२ भदौ । मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको निर्माण कार्य पूर्वी प्रस्थान विन्दु मेचीनगरबाट सुरु भएको छ ।
वर्षा सकिए लगत्तै यो राजमार्गको निर्माणले तीब्रता पाउने मदन भण्डारी चुरे राजमार्ग आयोजनाका प्रमुख श्यामकुमार यादवले बताए ।
यो सडक तीन खण्डमा निर्माण हुने गरी ठेक्का सम्झौता भइसकेको छ भने बाँकी खण्डको डीपीआर सकिएर ठेक्का लगाउने तयारी छ । पहिलो खण्ड पूर्वको प्रस्थान विन्दु झापाको मेचीडाँगीदेखि बुद्धशान्तिको शान्तिनगरसम्मको १० किलोमिटर रहेको छ ।
इलामको रोङ र झापाको मेचीनगरको सीमामा पर्ने बेसीबजारमा दुई दिन अघि स्थानीयबासी र जनप्रतिनिधिहरुको उपस्थितिमा राजमार्गका अभियन्ता वृहस्पति खतिवडाले वैदिक विधिबाट निर्माण कार्यको शुभारम्भ गरे । उनले पहिलो खण्डको निर्माण कार्य सुरु भएको घोषणा गरेका छन् ।
यादवका अनुसार सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान जेभी प्रालि काठमाडौंले लिएको छ । आगामी दुई बर्षमा निर्माण सम्पन्न हुने गरी वि.सं. २०७८ असार २९ गते सो प्रालिसँग ठेक्का सम्झौता गरिएको हो । संघीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ ।
दोस्रो खण्डको रुपमा रहेको धरानदेखि पूर्वतर्फ मोरङको भलुवा खोलासम्मको करिब २५ किलोमिटर र तेस्रो खण्ड भलुवा खोलादेखि झापाको दमकस्थित बेलडाँगीसम्मको २८ किलोमिटर सडक रहेको छ ।
दोस्रो र तेस्रो खण्डको निर्माण ठेक्का समेत सोही प्रालिले लिएको छ । अढाई बर्षमा काम सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख गरिएको छ । चौथो खण्डको रुपमा रहेको बेलडाँगीदेखि शान्तिनगरसम्मको सडकको ठेक्का लाग्न बाँकी छ ।
‘हामीले डीपीआर तयार गरेर सडक निर्माणको ठेक्का सम्झौता गरिसक्यौँ’, आयोजनका प्रमुख यादवले भने, ‘बर्षात्को समय सकिनासाथ निर्माणको काम सुरु गर्छौं ।’ बहुबर्षीय योजना अनुसार यो राजमार्ग बन्न लागेको हो । बेलडाँगीदेखि शान्तिगरसम्मको भागको लागत इस्टिमेट तयार गर्ना साथ सिलबन्दी बोलपत्रमार्फत निर्माण ठेक्का आह्वान गरिने उनले बताए ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपरुको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौंडा, नवलपरासीको गंैडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास, शिमलटारी, प्यूठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा सुर्खेतको बोटचोर, डोटीको सिमचोर, वीपीनगर, कैलालीको सहजपुर हुँदै डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।
Discussion about this post