मेचीनगर, १५ भदौ । मेची भन्सार कार्यालयको यसवर्ष निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।
मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको हो ।
सो नाकाबाट गत आर्थिक वर्ष २०७७÷०७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुबराज विश्वकर्माले बताए ।
उनका अनुसार यो नाकाबाट गत आ.व.मा ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आ.व.मा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको थियो ।
आ.व. २०७६÷७७ को तुलनामा आव २०७७÷७८ मा ९ अर्ब ६५ करोडले आयात बढेको छ भने निर्यात तर्फसमेत ४ अर्ब बढेको छ ।
काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको कार्यालय प्रमुख विश्वकर्माले जानकारी दिए ।
Discussion about this post