मेचीनगर, १५ भदौ । नेपाली कांग्रेसका मेचीनगर सभापति एवम् युवा नेता इन्द्रबहादुर बुढाथोकी क्षेत्रीय सभापतिको उम्मेद्वार बन्ने भएका छन् ।
लामो अवधिदेखि क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दै आएका पार्टीका निष्ठावान नेता मणिकुमार उप्रेती माथ्लो कुनै पनि जिम्मेवारीमा जाने भएका छन् ।
कांग्रेसको आसन्न महाधिवेशनको क्रममा भदौ १९ गते झापामा वडा अधिवेशन हुँदैछ । क्षेत्रीय सभापतिको दावेदारले क्षेत्रीय प्रतिनिधि चुनिएर आउनु पर्ने नियम छ ।
‘तपाई अब कुन जिम्मेवारीमा जाँदै हुनुहुन्छ ?’ भनेर पत्रकारले सोधेको प्रश्नमा नेता बुढाथोकीले भने–‘साथीहरुले क्षेत्रीय सभापतिको जिम्मेवारीमा जानुपर्छ भनिरहनु भएको छ ।’ उनले यसपाली क्षेत्रीय सभापति पदमा आफ्नो दावी रहेको स्पष्ट बताएका छन् ।
मेचीनगर–१० निवासी उनी नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा उदाएका प्रतिभाशाली नेता हुन् ।
विगतमा नेपाल विद्यार्थी संघको क्षेत्र र क्याम्पस समितिको सभापतिको जिम्मेवारी पूरा गरेका उनले नेपाली कांग्रेसको मेचीनगर सभापतिको गहन जिम्मेवारी समेत सफलतापूर्वक पूरा गरिसकेका छन् ।
Discussion about this post