मेचीनगर, १५ भदौ । मेचीनगरका आदिबासी राजबंशी युवाहरुले आज श्रीकृष्णप्रति भक्तिभावसहित दधिकादो पर्व धुमधामसँग मनाएका छन् ।
मेचीनगर–७ मदनबस्तीका युवाले यस अवसरमा खेलको आयोजना गरी बासको टुप्पोमा बाँधिएको नरिबल र पैसा झिक्ने प्रतियोगिता सम्पन्न गरे ।
आदिवासी राजवंशी समुदायमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकादो पर्व मनाइन्छ । दधि भनेको दही र कादो भनेको हिलो हो ।
खेलमा मेचीनगर–७ का देबलाल राजबंशी पहिलो, भारत पश्चिम बंगालका नाम नखुलेका एक पाहुना युवा दोस्रो र मेचीनगर–७ कै पिन्टुशील शर्मा तेस्रो भई पुरस्कृत भएका थिए ।
युवाहरुले हिलो भएको स्थानमा अग्लो बासको टुप्पोमा नगद र नरिवल कपडामा बाँधेर राखेका थिए । सो बास चढेर नरिवल र नगद हात पार्ने प्रतिष्पर्धा भएको थियो ।
स्थानीय युवा पुनलाल राजवंशीले चलिआएको परम्परालाई जोगाउन कार्यक्रम गरिएको बताए । अर्का युवा उत्तम राजवंशीले हिलो खेल्ने कार्य स्वस्थवर्धक भएको बताए ।
।। देवेन्द्र खरेल ।।
Discussion about this post