मेचीनगर, २० साउन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका एसएसबीले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ ।
आज सीमा नाका काँकरभिट्टामा नेपाल कम्युनिस्ट पार्टीले जयसिंह धामी हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हो ।
बसपार्कबाट शुरू विरोध प्रदर्शन कार्यक्रम भट्टराईचोक हुँदै काँकरभिट्टा बजार परिक्रमा गरेर हनुमान मन्दिर परिसरमा कोणसभामा भएको थियोे ।
विरोध र्यालीमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर, वैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला तहका नेता तथा कार्यकर्ताहरू, जनवर्गीय संगठन र स्थानीयको समेत बाक्लो उपस्थिति रहेको थियोे ।
कोणसभामा पार्टी झापा सचिव प्रशान्त र कार्यालय सचिव एवम् अखिल (क्रान्तिकारी ) का फ्याक्सन इन्चार्ज संजय राईले सम्बोधन गरेका थिए । दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा तुइन तरिरहेका ३३ वर्षिय जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन काटेर नदीमा खसालिदिएका थिए । ब्यास गाउँपालिकाबाट भारतको बाटो हुँदै दार्चुला जिल्ला सदरमुकाम खलंगा आइरहेका उनी पार गरिरहेका थिए ।
नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका जयसिंह एसएसबीले भारतपट्टि बाँधिएको तुइन (तार) काटिदिएपछि उनी नदीमा तारसँगै बेरिएर झरी बेपत्ता भएका थिए । घटना अनुसार शुक्रबार बिहान जयसिंह धामीसहित सोही ठाउँका बहादुरसिंह धामी, अमरसिंह धामी, मन्नाम धामी, अनिता धामी, कल्याण धामी र विक्रम रंकोली सहितका सातजना भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउन घरबाट हिडेका थिए ।
Discussion about this post