झापा, २२ साउन । वरिष्ठ चिकित्सक गोविन्द केसीले अब उप्रान्त निजी मेडिकल कलेज नखोल्ने नीति बनाउन र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदबाट हटाउन लगायतका पाँच बुँदे माग राखेर सत्याग्रह घोषणा गरेका छन् ।
चिकित्सा शिक्षा सुधार अभियन्ता केसीले भदौ ३ गतेदेखि सत्याग्रह थाल्ने घोषणा समेत गरेका छन् ।
केसीले शुक्रबार विज्ञप्ति जारी गरी आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । केसीले आफ्नो मागको पहिलो बुँदामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उल्लेख गरेका छन् ।
दोस्रो मागमा उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्न माग गरेका छन् । वीपीमा पदाधिकारी नियुक्त गर्दा मापदण्डका आधारमा सिफारिस गर्ने र कार्यदल बनाउन माग गरेका छन् ।
तेस्रो मागमा उनले चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले चिकित्सा क्षेत्रमा गैरनाफामूलक नीति सुनिश्चित गर्न माग गरेका छन् । अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गर्न माग गरेका छन् । पाँचौं बुँदामा केसीले यसअघि आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
Discussion about this post