झापा, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेको भन्दै सजग रहन आग्रह गरेका छन् ।
शनिबार भिडिओ सन्देशमार्फत् उनले भनेका छन्, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं। कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेका छन् ।
सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव छैन । हामी सबै मिलेरमात्र यो महामारीलाई पार लगाउन सक्छौं । त्यसैले म तपाईंहरूसँग आग्रह गर्दछु । अत्यन्त आवश्यक परेकोबेला मात्र बाहिर निस्कनू ।’
बाहिर निस्कनै परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि उनले आग्रह गरेका छन् । ‘बाहिर निस्कनुअघि नाक र मुख छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं । स्वास्थ्य सचेतना सम्बन्धी मापदण्ड पालना गरौं,’ उनले भने ।
महामारी नियन्त्रण गर्ने सबभन्दा आशा भनेकै खोप हो भन्दै खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न उनले अपिल गरेका छन् ।
सम्पूर्ण राजनीतिक क्षेत्र, निजी क्षेत्र, गैर सरकारी क्षेत्रलाई समेत भिडभाड हुने कार्यक्रम नगर्न उनले सुझाएका छन् ।
Discussion about this post