झापा, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्ति भएका छन् ।
ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको ती मन्त्रीले जानकारी दिए ।
यसअघि गत मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका थिए ।
अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामोसमय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए ।
उनको चारवर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुनः नियुक्ति गरेको थिएन ।
उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।
कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएको थियो ।
अब विद्युत प्राधिकरणमा कुलमान आएपछि केहि महिनादेखि बेलाबेला अवरुदध् हुने गरेको विद्युतमा पक्कै सुधार हुने आम नागरिकको भनाइ छ ।
Discussion about this post