मेचीनगर, ३१ साउन । मेचीनगरमा आउँदो भदौ १ गतेदेखि व्यवसायीले सबैखाले व्यापार व्यवसाय खोल्ने घोषणा गरेका छन ।
मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् ।
कोराना भाइरसका कारण लामो समयदेखिको लकडाउनले व्यापार व्यवसाय ठप्प भएको, आर्थिक संकट पैदा भएको र व्यवसायीहरु प्लायन हुन थालेकोले यस्तो घोषणा गर्न बाध्य भएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।
‘लकडाउन अवधि भरको बैकिङ्ग कारोवारमा लाग्ने व्याज हर्जना तथा व्यवसाय कर नियमित लागिरहने’ अध्यक्ष श्रेष्ठले भने ‘तर व्यापार व्यवसाय भने सञ्चालन गर्न नपाइने नियमले व्यवसायी पलायन हुने स्थित आएको छ । त्यसैले सुरुक्षा र स्वास्थ्य मापदण्ड अपनाएर भदौ १ गतेदेखि व्यवसाय सुचारु गरिने छ ।’
भदौ १ गतेदेखि व्यापार व्यवसाय सञ्चालन गर्न पाए भन्दै मेचीनगरका १५ वटै व्यवसायका संघ संस्थाहरुले आज संयुक्त रुपमा नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा होटल व्यवसायी महासंघ केन्द्रीय सचिव राजु अधिकारी, होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, पूर्व मेची बस व्यवसायी प्रालि मेचीनगरका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यवसायी संघ मेचीनगर अध्यक्ष भुपाल शिवाकोटी, झापा ट्राभल्स संघका अध्यक्ष निरबहादुर कार्की (नेत्र), नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, पूर्वी नेपाल यातायात व्यवसायी प्रालि अध्यक्ष केशव गिरी, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष अध्यक्ष विष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष खडानन्द भण्डारी, नेपाल यातायात मजदुर संघ अध्यक्ष विशाल तामाङ, सुनौलो संयुक्त यातायात प्रालि अध्यक्ष भुपाल ओली, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालि अध्यक्ष गणेश चौहान, नेपाल पर्यटन श्रमिक संघ अध्यक्ष विजय सुवेदी, राष्ट्रिय उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य ज्ञानेन्द्र घिमिरे, काँकरभिट्टा टेक्सी व्यवासयी प्रालि अध्यक्ष डिल्लीकुमार कार्कीको हस्ताक्षर रहेको छ ।
Discussion about this post