बिर्तामोड, १ भदौ । बिर्तामोड उद्योग वाणिज्य संघले एकसय दिनभन्दा बढी समययता बन्द हुँदै आएका पसल तथा सटरको बहाल छुट गर्न माग गरेको छ ।
संघका पदाधिकारी तथा सदस्यहरुको टोलीले सोमबार बिर्तामोड नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई ज्ञापनपत्र बुझाएको हो ।
तीन महिनाभन्दा बढीको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले घर बहाल तथा व्यावसायिक कर छुट गरिदिन संघले बिर्तामोड नगरपालिकालाई आग्रह गर्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
‘अहिलेको अवस्थामा बैंक ब्याज, घरभाडा तथा राजस्व बुझाउन कठिन भएको छ । यस्तो विषम परिस्थितिमा बिर्तामोड नगरपालिकाले व्यवसाय गरे बापतको व्यावसायिक कर र घरभाडा लगाए बापत लिने गरेको बहाल कर छुटका लागि आवश्यक पहल गरिदिनु हुन अनुरोध छ’, ज्ञापनपत्रमा भनिएको छ ।
त्यसैगरी, संघले बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेका भवनबाट उठाइँदै आएको भाडामा पनि छुट गरिदिन आग्रह गरेको छ ।
‘बिर्तामोड नगरपालिकाले भाडा लगाएका कोठाहरुका भाडा तिर्न कठिन रहेको व्यवसायीहरुबाट गुनासो आइरहेको हुनाले बिर्तामोड नगरपालिकाले भाडामा लगाएका कोठाहरुको लकडाउन अवधिको कोठा भाडा नलिई व्यवसायीहरुलाई राहत सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ’, अध्यक्ष शिवाकोटीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ ।
Discussion about this post