झापा, २६ कात्तिक । भद्रपुर–६ की गणक लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फारम भरिरहेको भेटिएकी छन् ।
खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा नभेटिएपछि नजिकैको खेतमै पुगेर जनगणनाको फारम भरेको राजबंशीले बताइन् ।
पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरण समेत राजवंशीले सोही बेला टिपेकी थिइन् ।
‘घरमा मान्छे नभेटिएपछि सोधी खोजी गरेर उहाँहरु जहाँ हुनुहुन्छ त्यहीँ गएर फारम भर्ने गरेकी छु’, उनले भनिन्, ‘कोही नछुट्ने गरी काम गरिरहेका छौँ ।’
गणनाका लागि जाँदा केही समस्या आउने गरेको उनको भनाइ छ । ‘केहीले उमेर भन्न मान्दैनन्, केहीले अन्दाजी यति उति लेखिदिनु भन्छन्’, उनले भने–‘डेरामा बस्ने मान्छे घरमा भेटिँदैनन्, मोबाइल नम्बर पनि घरबेटीसँग माग्दा नपाइएको अवस्था छ ।’
बिर्तामोड नगरपालिकामा घरभाडामा बस्ने मानिसको सङ्ख्या धेरै छ । इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी लगायतका जिल्लासँगै भारतबाट व्यवसाय–मजदुरी गरेर बस्नको संख्या धेरै छ ।
जनगणनामा खटिएका बिर्तामोड–४ का नवेश गुरुङले एउटै घरमा पाँच÷छ परिवार घरभाडामा बस्दै आएको पाइएको बताए ।
‘कर उठाउन, भाडा बढाउन, चुनावका लागि विवरण लिन आएको भन्ने मानिसमा भ्रम रहेको पाइयो’, बिर्तामोड–५ मा गणकका लागि खटिनुभएका उनले भने, ‘धेरैले विवरण दिन अन्काउँछन्, धेरै ‘कन्भिन्स’ गर्दा मात्र विवरण दिने गरेका छन् ।’
राजवंशी र गुरुङजस्तै जिल्लामा हाल एक हजार १८७ जना गणक जनगणनामा खटिएका छन् । उनीहरु घरदैलोसँगै खेतबारी र कार्यस्थलमै पुगेर विवरण लिइरहेका छन् ।
जनगणनाका लागि झापामा दुई वटा कार्यालय (बिरिङ नदी पश्चिम दमक र बिरिङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ ।
यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार पाँच सय परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ ।
Discussion about this post