सलकपुर, ३ पुस । नेपाल र भारतमै सुन्तलाको खानी भनेर चिनिएको इलामको सलकपुरमा अब सुन्तला पाइनै छोडेको छ ।
इलामको रोङ गाउँपालिका वडा नम्बर ६ स्थित सलकपुर सुन्तलाको खानी भनिएर चिनिएको ठाउँमा सुन्तला भेट्न मुस्किल पर्न थालेको हो ।
केहि वर्षदेखि सलकपुरमा सुन्तलाको उत्पादनमा कमी आउन थालेको रोङ–६ का वडाध्यक्ष पासाङ तामाङ स्वाकार्छन् ।
‘विगतका वर्षहरुमा यहाँका दुईसय भन्दा बढी कृषक सुन्तला खेती लगाउथे’, वडाध्यक्ष तामाङले भने–‘अब त्यो खुम्चिएर २०÷२५ जना कृषक मात्र यो खेतीमा सिमीत भए ।’
सुन्तलाको उत्पादन घट्नुमा विभिन्न कारणहरु रहेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण माटो खराव भएका कारण सुन्तलाको बोटको जरा नफस्टाउनु, हाँंगाहरु सुक्नु, पातहरु पहेलो हुनु लगायतका कारणले अहिले सुन्तला उत्पादनमा कमी आएको वडाध्यक्षको दावी छ ।
कृषकहरु सुन्तला खेतीको विकल्प खोज्न थालिसकेको उनले बताए । ८÷१० वर्षदेखि राम्रो उत्पादन भईरहेको सुन्तलामा अहिले आएर बोट सुक्ने, पात पहेलो हुने र जरानै नफस्टाउने कारण कृषक चिन्तामा छन् ।
Discussion about this post