धुलाबारी, १६ पुस । धुलाबारीस्थित तृष्णा चलचित्र मन्दिर अब सदाका लागि बन्द भएको छ ।
मेचीनगर–१० स्थित धुलाबारी मोडदेखि एक किलोमिटर उत्तरमा रहेको तृष्णा हल २०२८ सालमा धुलाबारीका समाजसेवी चन्द्रकुमार श्रेष्ठले सञ्चालनमा ल्याएका थिए ।
पञ्चायत शासनका बेला सञ्चालक श्रेष्ठ युवक संगठनका केन्द्रीय सदस्य थिए । उनैको जोडबलले स्थापना भएको सिनेमा हल अब फेरि फर्किने अवस्थामा छैन ।
‘४ कठ्ठा जग्गामा टिनको छानो र टाटीले बेरेर लिपेको घरमा सिनेमा हल सुरु गरेको थिएँ’, सञ्चालक चन्द्रकुमारले पुरानो कुरा सम्झिदै भने–‘पछि लिपेको ठाउँमा सिमेन्टको प्लस्टर गरेका थियौं ।’
उसबेला सञ्चालक चन्द्रकुमारले सञ्चार मन्त्रालयमा स्थानीय समाजसेवी लेखनाथ पराजुलीका नाममा तृष्णा चलचित्र मन्दिर दर्ता गराएका थिए ।
२०६० सालमा सो सिनेमा हल चन्द्रकुमारले पराजुलीका नामबाट छोरा मुकुल श्रेष्ठका नाममा नामसारी गरे । उनले भारतको आसामबाट भारु १५ हजारमा सानो आकारको प्रोजेक्टर खरिद गरेर हल सञ्चालनमा ल्याएको स्मरण गरे ।
‘त्यो प्रोजेक्टरले पछि काम नगरेपछि विहारबाट भारु ३२ हजारमा अरु २ वटा ठूलो प्रोजेक्टर मगाएको थिएँ’, उनले सुनाए ।
अहिले त्यहि २ वटा प्रोजेक्टर काम नलाग्ने भएर २० हजार रुपैयाँमा काठमाडौँको कवाडीलाई बिक्री गरिदिएको मुकुलको भनाई छ ।
फोटो÷शब्द : अर्जुन कार्की
Discussion about this post