झापा, २३ पुस । नेकपा एमाले झापाको नेतृत्व चयन शनिवार हुने भएको छ ।
आज विर्तामोडको हिमाल सागर रिसोर्टमा दशौं जिल्ला अधिवेशन सुरु भएको हो ।
अधिवेशनको आजै बन्द सत्र सुरु भएको छ भने सात वटा समूह विभाजन गरेर करीव एक हजार प्रतिनिधि सांगठनिक र आर्थिक प्रतिवेदनमाथिको छलफलमा जुटिसकेका छन् ।
पार्टीका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले शनिवार विहान ९ बजे बन्द सुरु फेरि सञ्चालन हुने र छलफलमा उठेका विषयहरु बन्द सत्रमा प्रस्तुत हुने जानकारी दिएका छन् ।
बन्द सत्रले १५० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । जसमा ३३ प्रतिशत अर्थात ५० जना महिला छानिने ग्यारेन्टी गरिएको छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव सहितको पदाधिकारी र जिल्ला सदस्यहरु चयनका लागि बन्द सत्रको अध्यक्ष मण्डलले नीतिगत व्यवस्था र मापदण्ड बनाएको छ ।
बन्द सत्रबाट पारित व्यवस्था अनुसार भूगोलबाट ७६ जना जिल्ला सदस्य चयन हुनेछन् । जसमा १५ पालिकाबाट ३ देखि ४ जना, संघीय निर्वाचन क्षेत्रबाट ५ जना र प्रदेश निर्वाचन क्षेत्रबाट २० जना जिल्ला सदस्य चयन हुने भनिएको छ ।
त्यसैगरी, आरक्षणबाट ४१ जना जिल्ला सदस्य चयन हुनेछन् । जसमा दलितले ७, आदिबासी जनजातिले ९, श्रमिकले ५, सीमान्तकृतले २, अल्पसंख्यकले २, मुस्लिमले २, पेशागतले २, अपांगले १, सहकारीले १ र अरु विभिन्न आरक्षण क्षेत्रले पनि यसरी नै जिल्ला सदस्य पाउनेछन् ।
खुला क्षेत्रबाट २८ जना जिल्ला सदस्य चुनिनेछन् । पदाधिकारी ५ जना हुनेछन् । जसमा न्यूनतम् एक जना महिला हुनुपर्नेछ ।
बन्द सत्रको अध्यक्षता स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेलले गरेका छन् । बन्द सत्रको सञ्चालन सहइञ्चार्ज रविन कोइरालाले गरेका छन् ।
Discussion about this post