इलाम, ८ फागुन । इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउण्डेशनले तीन जना स्रष्टालाई सम्मान गरेको छ ।
गणेश रसिकले स्थापना गरेको फाउण्डेशनले साहित्यकार चूडामणि रेग्मी, लोकगायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजारसहित सम्मान गरेको हो ।
सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई प्रदेश नम्बर १ की पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले नगद सहित प्रशस्ति पत्र प्रदान गरिन् ।
कोभिडका कारण गत वर्ष आयोजना हुन नसकेको नरोत्तम–रत्न स्रष्टा सम्मान यो पटक दुवै वर्षको प्रदान गरिएको हो । फाउण्डेशनले २०७७ सालको रेग्मी र २०७८ सालको जोशीलाई प्रदान गरेको हो ।
कार्यक्रममा स्वास्थ्य समस्याका कारण रेग्मी उपस्थित थिएनन् । नरोत्तम–रत्न स्रष्टा सम्मान रसिकका पिता नरोत्तम राई र माता रत्न ठकुरी राईको स्मृतिमा २०७६ सालमा स्थापना भएको हो ।
त्यसैगरी गणेश रसिकी पत्नी निरा शेरचन रसिकको स्मृतिमा यो वर्ष स्थापना गरिएको निरा–रसिक पत्रकारिता सम्मान २०७८ भण्डारीलाई प्रदान गरिएको हो ।
त्यसैगरी पर्यटन तथा संस्कृति मन्त्री लङ्वालाई रसिकले बधाई पत्र समेत प्रदान गरे । आगामी वर्षबाट पत्रकारिता पुरस्कार निराको देहान्त भएको कात्तिक १० गते प्रदान गरिने रसिकले जानकारी दिए ।
उनले गणेश रसिक नाम रहेको फाउण्डेशन अबबाट निरा–रसिक फाउण्डेशनको नामबाट रहने समेत बताए ।
Discussion about this post