मेचीनगर, ११ फागुन । नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन होला ?
आश्चर्य नमाने हुन्छ– मेचीनगरको कालिका सामुदायिक बनको चुनावमा यी दुई पार्टी एउटै गठबन्धनमा हल बाँधिएर प्रतिष्पर्धीसँग भिड्न कस्सिएका छन् ।
मेचीनगर वडा नं. ११ र १२ मा रहेको कालिका सामुदायिक बन उपभोक्ता समितिको चुनावमा २,५५० जना उपभोक्ता मतदाता छन् । मतदान आजै हुँदैछ ।
चुनावमा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ भने त्यही गठबन्धनमा राप्रपा समेत मिसिएको छ । गठबन्धनको नेतृत्व नेकपा एमालेले गरेको छ भने अध्यक्षको उम्मेद्वार एमालेकै बिशुलाल मेचे रहेका छन् ।
‘संस्थाको चुनावमा मिलेर जानु उपयुक्त हुन्छ भनेर हामी मिलेका हौं,’ नेकपा एमाले मेचीनगरका एक नेता भन्छन्–‘कांग्रेस र राप्रपासँग एमाले मिलेकोमा चिन्तित हुनेहरु पनि छन्, तिनको टाउको दुखाइले केही फरक पर्दैन ।’
राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस विपरीत ध्रुवको नेतृत्व गर्दै आपसमा प्रतिष्पर्धा गरिरहेका छन् । कांग्रेस सत्तामा छ भने एमाले प्रमुख प्रतिपक्षी । सत्तामा कांग्रेससँग नेकपा माओबादी, नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टी (जसपा)ले गठबन्धन गरेका छन् ।
मेचीनगरमा केही दिन अघि कांग्रेस, माओबादी, एस र जसपाका शीर्ष नेताहरुले एउटा बैठक गरेर आगामी चुनावमा गठबन्धन गर्ने उद्घोष गरेका थिए । खासगरी नेकपा एसको जोडबलमा भएको सो बैठकका निर्णयलाई निकै प्रचार प्रसार गरिएको थियो । तर उक्त निर्णय भएको केही दिन नबित्दै कालिका बनको चुनावमा कांग्रेससँग एमाले र राप्रपाको पो गठबन्धन भयो ।
कालिका बनको चुनावमा एमाले–कांग्रेस–राप्रपा गठबन्धनलाई अस्वाभाविक भन्दै आएको नेकपा माओबादी नेतृत्वको गठबन्धन चुनावी भिडन्तमा उत्रिएको छ । यो गठबन्धनको नेतृत्व माओबादीले गरेको छ र अध्यक्षको उम्मेद्वार पनि माओबादीकै योगेश भट्टराई छन् ।
भट्टराई यसअघि सोही बनमा दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । माओबादीका एक नेताको आरोप अनुसार भट्टराईलाई जसरी भए पनि हराउन एमाले, कांग्रेस र राप्रपाबीच अपवित्र गठबन्धन भएको हो ।
‘हाम्रा उम्मेद्वार बलिया छन्, चुनावमा हराउन एमाले–कांग्रेस गठबन्धनको केही जोर चल्नेवाला छैन,’ नगरका माओबादीका एक नेता भन्छन्–‘केन्द्रमा कांग्रेसलाई काँध हालेर बोक्न तयार भएको माओबादीलाई बनको चुनावमा अध्यक्ष स्वीकार्न नसकेर एमालेको पुच्छर बन्न गएको कांग्रेसलाई केही भन्नु छैन ।’
उपभोक्ताको हितमा धेरै काम गरेका कारण अध्यक्ष पदमा तेस्रोपटक दोहोर्याउन योगेश भट्टराईलाई कुनै मुस्किल नभएको माओबादी पक्षको दावी छ । तर, एमाले–कांग्रेस गठबन्धन पक्षधरहरु यसपाली कालिका बनको चुनावबाट माओबादी बढारिने दावी गर्छन् । माओबादीको प्यानलमा नेकपा एकीकृत समाजबादी पनि गएकोलाई एमाले पक्षधरहरु स्वाभाविकै मान्छन् ।
‘नेकपा एकीकृत समाजबादीका जम्मा एक जना उपभोक्ता थिए, उनलाई पनि गठबन्धन भनेर प्रचार गरिएको रहेछ,’ एमालेका एक नेताको टिप्पणी छ–‘कसको हैसियत के रहेछ भनेर चुनावको परिणामले देखाइहाल्छ, अब धेरै पर्खिनु पर्दैन ।’
बनको चुनावमा राजनीतिको प्रभाव बेस्सरी पर्ने गरेको छ । जसको कारण गठबन्धन बन्ने र भत्किने गर्छन् । तर, नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन चाहिँ धेरैले नसोचेको विषय हो ।
माओबादी समर्थक अध्यक्षका उम्मेद्वार भट्टराईको प्रभाव धेरै भएको र उनी उपभोक्तामाझ लोकप्रिय पनि भएको कारण उनका विरुद्ध एमाले र कांग्रेस मिलेर भिड्न आएको माओबादी–एस–जसपा गठबन्धन पक्षको बुझाई छ ।
नगरको पार्टी नेतृत्वको ग्रीन सिग्नल बेगर कालिका बनको चुनावमा दलीय समीकरण बन्न सम्भव छैन । नेकपा माओबादीबाट अध्यक्ष पदको उम्मेद्वार भएको बेला काँंग्रेससँग गठजोड मिलाउन नसक्नुमा नगरको माओबादी नेतृत्वको कमजोरीको रुपमा समेत राजनीतिक वृत्तमा चर्चा गर्न थालिएको छ ।
मेचीनगर वडा नं. १२ स्थित अमर आधारभूत विद्यालयको प्रांगणमा आज विहान ८ बजेदेखि मतदान हुँदैछ ।
Discussion about this post