सुरुङ्गा, २४ जेठ । ‘गुहार गुहार’ भन्दै केही गाउँले चिच्याएपछि गाउँका अरुहरुले जिल्लाका सीडीओलाई फोन गरी शिवसताक्षी नगरको वडा नं. ९ को सुकुम्बासी बस्तीमा बाढी पसेको जानकारी दिए ।
ती व्यक्तिले सीडीओलाई यसरी सुनाउँदै थिए–‘गाउँमा बाढी पसेर डुबाइसकेको छ । हामी केही व्यक्तिहरु घरको छतबाट गुहार मागिरहेका छौं । केहीलाई खोलाले बगाउँदैछ । सर, हामीलाई तुरुन्तै बचाउनु पर्यो ।’
प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले तत्कालै सुरक्षा निकायसहितको बैठक बसेर उद्धारमा खटिन निर्देशन दिए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको टोलीले तत्कालै बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धारको कार्य सुरु गर्यो । जसका कारण कयौलाई जीवितै उद्धार गरियो ।
आपतकालीन उद्धार क्रममा सुरक्षाकर्मीले बाँसको चाङ, केराको थाम, प्लास्टिकका बोतल आदिको डुंगा बनाएर प्रयोग गरेका थिए ।
हस्याङ् फस्याङ् गर्दै उद्धारकर्मीहरुले गाउँलेहरुलाई बाढीबाट जोगाए । त्यसपछि तिनको उपचार र बासको व्यवस्थापन गरियो । खानेकुरा र लत्ताकपडा सबै बाढीले बगाएका कारण उनीहरुलाई राहत वितरण गरियो ।
माथि वर्णन गरिएको दृश्य सोमवारको हो । कनकाई वडा नं. २ स्थित जामुनखाडी सिमसारको पोखरीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यासको क्रममा बाढी आएको, पीडितले गुहार मागेको, उद्धार गरिएको, सुरक्षाकर्मी परिचालन भएको र राहत वितरण गरिएको घटना देखाइएको थियो । तर ती सबै वास्तविक थिएनन् । कृत्रिम घटना थिए अभ्यासका लागि ।
झापा बाढीका कारण वर्षेनी धेरै जनधनको क्षति हुने जिल्लामा पर्दछ । कनकाई, बिरिङ, कमल, मेची, निन्दा लगायतका नदीले बर्खाका बेला वितण्डा मच्चाउने गरेका छन् ।
त्यही विपद्का बेला कसरी उद्धारको काम गर्ने भनेर सुरक्षाकर्मीसहित सरोकारवालाले जामुनखाडी सिमसारको पोखरीमा कृत्रिम अभ्यास गरिएको झापाका सहायक प्रजिअ रुद्रप्रसाद न्यौपानेले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको अभ्यासमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
जिल्लास्थित सरकारी अड्डाका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखको पनि सो अवसरमा सहभागिता थियो ।
‘मेरो पालिकामा बाढी पसेजस्तै लाग्यो,’ शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राले भने–‘कृत्रिम अभ्यास भए तापनि यहाँ हेर्दा साँच्चिकै घटना जस्तै भयो, म त झसङ्गै भएँ ।’ उनले नगरपालिकाले विपद् व्यवस्थापनमा पर्याप्त बजेट छुट्याउने बचनबद्धता व्यक्त गरे ।
नेपाली सेनाका कर्णेल सुदर्शन थापा, सशस्त्र प्रहरीका एसपी प्रदिपजंग कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेल, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल लगायतको अभ्यास कार्यक्रममा उपस्थिति थियो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विपद्का बेला गर्नुपर्ने उद्धार र राहतका लागि अभ्यास उपयोगी हुने बताए ।
Discussion about this post