झापा, ७ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्वाङ विजयी भएका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरले हराउँदै नेम्वाङ अध्यक्ष निर्वाचित भएका हुन् ।
नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।
नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए ।
अभियान सफलता उन्मुख हुँदै गर्दा नेम्वाङले कर्मालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्याए । तर पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले कर्मा र उनको काममाथि निरन्तर प्रश्न उठाएर असहमति जनाउदै आएका थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा नेम्वाङकै प्यानलका वीरबहादुर खड्का विजयी भएका छन् । उनले ४४ मत ल्याए भने शेर्पाको प्यानलका शिक्षित पराजुलीले ४० मत मात्र प्राप्त गरेका थिए ।
मेचीनगर–१० स्थित धुलाबारी निवासी नेम्वाङ विजयी भएकोमा मेचीनगर लगायत झापाबासी खुसी भएका छन् । नेम्वाङ मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । उनको जीतले खेलाडी र खेलकुद प्रेमीहरुले झापा हव बन्नेमा आशावादी रहेका छन् ।
Discussion about this post