झापा, ६ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२६ तालचोक स्थित अर्घौमा रहेको एनएमबी बैँकको एटिएम मेसिन फुटाएर पैसा चोरी गरेका अभियुक्तलाई सार्वजनिक गरेको छ ।
गत साउन ३ गते राति पौने दुई बजेको समयमा एटिएम मेसिन फोरेर कसैले पैसा लगेको सूचना कास्की प्रहरीलाई प्राप्त भएको थियो ।
लगत्तै राति दुई बजे सोही वडाको तालचोकमा रहेको एनआईसी एसिया बैँकको एटिएम मेसिन फुटाउने प्रयास गरेको सूचना पनि प्रहरीमा आयो ।
दुवै घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी युनिटले चोरी गर्ने व्यक्तिको खोजी सुरु गरेको थियो । अनुसन्धानको क्रममा फरक–फरक दुई घटनामा संलग्न भएका व्यक्ति एकै हुलियाको रहेको देखिएपछि प्रहरीले ती व्यक्तिले चढेको ग १० प २९६३ नम्बरको मोटरसाइकल र हेलमेटबाट अनुसन्धान थालेको थियो ।
सोधपुछका क्रममा एटिएम फुटाएका व्यक्तिले उक्त मोटरसाइकल पनि साउन ३ गतेकै राति चोरी भएको पुष्टि भएको थियो ।
पोखरामा पछिल्लो समय शृङ्खलाबद्ध रूपमा एटिएम मेसिन फुटाउने प्रयास गरेका तथा फुटाएका घटनाहरू बढेपछि थप अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय सिसुवा कास्कीले संयुक्त रूपमा खोजतलासको काम थालेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार संयुक्त अनुसन्धान टोलीले गत भदौ २ गते रुपन्देहीको नेपाल–भारत सीमानामा रहेको बेलहिया नजिकैबाट भारततर्फ जाँदै गरेको अवस्थामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने २१ वर्षीय अनिश तामाङलाई पक्राउ गरेको थियो ।
कक्षा ९ सम्मको अध्ययन गरेका भेडे उपनामले चिनिने तामाङ करिब ६ महिनाअघि पोखरा महानगरपालिका–३० सिसुवामा रहेको माझापसल ट्रेडर्समा काम गर्दै आएको बुझिएको छ ।
उनीमाथि थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप जाँचबुझ चलिरहेको डीएसपी तिवारीले बताए ।
Discussion about this post