मेचीनगर, ११ असोज । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरले अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मानसहित विदाई गर्ने भएको छ ।
नगरपालिकाका कर्मचारीहरुको साझा संस्था एशोसिएसनले यहि विहीबार अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मानसहित विदाई गर्ने भएको हो ।
एशोसिएसनले मंगलबार ईटाभट्टामा पत्रकार सम्मेलनको आयोजना गरेर सो जानकारी गराएको हो । कार्यालय सहयोगीदेखि अधिकृतसम्मका अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मानसहित विदाई गर्ने कार्यक्रम रहेको एशोसिएसनका मेचीनगर अध्यक्ष रविनसन थापाले बताए ।
एशोसिएसनले मेचीनगर नगरपालिकाका कर्मचारीहरु भुइदल राई, इन्द्रबहादुर थापा, रामशरण डुम, अग्नि दाहाल, गीता सापकोटा र निरानन्द आचार्यलाई सम्मानसहित विदाई गर्ने कार्यक्रम रहेको थापाले जनकारी दिए ।
‘हामी कर्मचारीको हक, हित र सुरक्षाका लागि क्रियाशिल छौँ’, अध्यक्ष थापाले भने –‘अवकाश कर्मचारीहरुको सम्मान गर्नु दायित्व हो । वषौँदेखि आफ्नो श्रम र पसिना बगाएका कर्मचारी विदाई हुँदा नगरपालिकाले नै सम्झनु पथ्र्याे । तर नगरपालिकाले ध्यान नदिएकोले हामीले त्यो अभियान सुरु गरेका हौँ ।’
एशोसिएसनले सोही दिन निःशुल्क आँखा जाँचको शिविर समेत आयोजना गरेको एशोसिएसनका केन्द्रीय सदस्य सञ्जय ढुंगानाले बताए । शिविरमा मेची नेत्रालयको प्राविधिक सहयोग रहनेछ । आँखाको समस्या भएका र चश्मा आवश्यक पर्ने आँखाका विरामीहरुलाई नेत्रालयले निःशुल्क चश्मा वितरण गर्नेछ ।
एशोसिएसनले आँखाका विरामीलाई २५० रुपैयाँ सम्मको औषधि निःशुल्क उपलब्ध गराउने ढुंगानाले बताए । कर्मचारी, जनप्रतिनिधि र प्रत्यक वडाबाट १० जना तथा सर्वसाधारण गरी जम्मा ३०० जनाको आँखा जाँच गराउने कार्यक्रम रहेको एशोसिएसनका मेचीनगरका कोषाध्यक्ष रीतप्रसाद भेटवालले जानकारी दिए ।
Discussion about this post