बाहुनडाँगी, १५ असोज । समाजमा लोप हुँदै गएको लिङ्गे पिङ्गको सम्बन्ध वडा दशैँसँग जोडिएको छ ।
ऐतिहासिक, साँस्कृतिक र धार्मिक सम्बन्ध बोकेको लिङ्गे पिङ्गको प्रयोग विशेष गरेर दशैँमा गरिन्छ ।
लोप हुँदै गएको लिङ्गे पिङ्गको रौनक दशैँमा देखिने गरेको छ । हराउँदै गएको यो परम्परालाई मेचीनगरमा समाजले जोड्न थालेको छ ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हराउँदै गएको यो परम्परालाई यहाँका नागरिकले फेरि पुर्नताजगी गर्ने प्रयास गरेको बताए ।
प्रायः दशैँको घटस्थापनादेखि आफ्नो गाउँघर र शहरमा यस्ता लिङ्गे पिङ्ग बनाएर छुट्टै आनन्द र रौनक दिने गरेको छ ।
वर्षमा एकचोटी भुई छोड्नु भन्ने बुढापाकाको परम्परालाई आत्मसाथ गर्दै यसलाई अब वडा नम्बर ४ मा कायम राख्ने उद्देश्य रहेको वडाध्यक्ष कार्कीले बताए ।
‘वडामा २३ वटा टोल विकास समिति छ’ वडाध्यक्ष कार्कीले भने–‘आइतबार अर्थात फुलपातीदेखि प्रत्यक टोलमा एउटा लिङ्गे पिङ्ग बनाएर यो परम्परालाई जर्गेना गर्ने उद्देश्य छ ।’
फुलपातीदेखि दशैँभरि टोलटोलमा लिङ्गे पिङ्ग राखेर नागरिकलाई मनोरन्जन प्रदान गरिने उनले बताए । दशैँसँगै ऐतिहासिक, साँस्कृतिक र धार्मिक सम्बन्ध बोकेको लिङ्गे पिङ्गलाई वडाले निरन्तरता दिने उनको भनाई छ ।
त्यसो त लोप हुँदै गएको लिङ्गे पिङ्ग झापामा विभिन्न स्थानमा दशैँका बेला नागरिकले फट्टफुट्ट मनोरन्जन लिइरहेको देख्न सकिन्छ ।
मेचीनगरमा एक वर्षअघि मात्र सुरु भएको होटल मेची क्राउनले आफ्नो कम्पाउन्ड भित्र दशैँका बेला लिङ्गे पिङ्ग ठडाएर आन्तरिक तथा विदेशी पाहुनालाई मनोरन्जन दिइरहेका छन् ।
Discussion about this post