।। अर्जुन कार्की ।।
बिर्तामोड, १८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रतिष्पर्धी गठबन्धन दलका नेताहरुलाई समेत एउटै मञ्चमा राखेर वडा दसैँ, तिहार, छठ, नेपाल सम्वत लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।
मंगलबार बिर्तामोडस्थित सिटी सेन्टरमा एमाले अध्यक्ष ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टीका नेताहरु ओलीसँगै मञ्चमा थिए ।
मंसिर ४ गतेको आमचुनावमा ओलीसँगै प्रतिष्पर्धा गर्ने घोषणा गरेका नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता रञ्जित तामाङलाई मञ्चमा राखिएको थियो । त्यति मात्र होइन तामाङलाई आफ्ना कुराहरु राख्ने अवसर पनि दिइएको थियो ।
उनले पूर्व प्रधानमन्त्री समेत रहिसकेका अध्यक्ष ओलीलाई रुद्राक्षको माला लगाएर सम्मान गरेका थिए ।
ओलीले पनि मन्तब्यको क्रममा बहुदलीय प्रतिष्पर्धामा जो जहाँ भए तापनि दलहरुबीच राष्ट्रिय एकता र लोकतान्त्रिक व्यवहार कायम हुनुपर्ने बताए ।
उनले दशैँ, तिहार लगायत सबै पर्वहरुले नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने बताउँदै ठूलाहरुबाट आर्शिवाद लिने चलनले ठूलो महत्व राख्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई पनि मञ्चमै थिए । लोकतन्त्रका लागि मिलेर आन्दोलन गरेका कांग्रेस र एमालेबीच दूरी कम हुनुपर्ने उनले मन्तब्यको क्रममा बताउँदा दर्शक दीर्घाबाट परर ताली बजेको थियो ।
उनले अहिले पनि राजतन्त्र ल्याउन चलखेल भइरहेकोले दलहरु सजग हुन आवश्यक रहेको बताए । पूर्व राजाले हालै विज्ञप्ती निकालेर लोकतन्त्रमाथि च्यालेन्ज समेत गरिरहेको दावी गरे ।
कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता भक्ति सिटौला मञ्चको अग्रभागमै थिए । लिङ्देनले ढिलो आएका कारण बोल्ने अवसर गुमाए भने सिटौलाले राष्ट्रिय एकताको भावनामा दलहरु एकजुट भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङले नेकपा बनेको समयमा एमाले र माओबादीले सँगै मिलेर शुभकामना कार्यक्रम गरेको र समाजबादको लक्ष्य कोरेको पुरानो कुरा सम्झिए । नेकपा एमालेलाई जनताले मन पराएको पार्टीको रुपमा बताएका उनले वडा दसैँले फेरि मिलेर जाने प्रेरणा मिलोस् भन्ने शुभकामना दिए ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका झापा अध्यक्ष दिपेनवाला राईले सबै दललाई बोलाएर दशैँँको शुभकामना साटासाट गरेकोमा एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार टिका भण्डारी, रेवत खनाल, रमा भण्डारी, सुसन कार्की लगायतले नृत्य, गीत, कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश अध्यक्ष देबराज घिमिरे, झापा इञ्चार्ज अग्नी खरेल, सहइञ्चार्ज रविन कोइराला लगायतका एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले स्वागत र कार्यक्रमको सञ्चालन सचिव शिव ढुंगेलले गरेका थिए ।
Discussion about this post