मेचीनगर, २६ असोज । झापामा डेङ्गु संक्रमण भएर दुई जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएको हो ।
भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र बिर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीया निशा क्षेत्रीको डेङ्गु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
भट्टराई स्वास्थ्य कार्यालय भद्रपुरका सातौं तहका परिवार नियोजन अधिकृत हुन् ।
श्रीमती मित्रा भट्टराईको खुट्टामा चोट लागेपछि उनको उपचार गराउन भदौको पहिलो साता भट्टराई काठमाडौं गएका थिए । झापा ओहोरदोहोर गरिरहेकी उनकी छोरीलाई त्यही बेला डेङ्गु संक्रमण पुष्टि भयो ।
काठमाडौंमा पढिरहेकी छोरीलाई डेङ्गु भएपछि उनी फेरि दशैँमा काठमाडौं गए । काठमाडौंमा नै उनलाई डेङ्गु संक्रमण भएको पारिवारिक निकट स्रोतले जनाएको छ ।
काठमाडौंको ह्याम्स हस्पिटलमा उपचार गराइरहेका उनको मंगलबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिए । उनलाई सुगर र मुटुको समस्या पनि थियो ।
यता बिर्तामोड–३ निवासी निशा क्षेत्रीको उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ । काठमाडौंको सरस्वती क्याम्पस लाइब्रेरी शाखामा कार्यरत क्षेत्रीलाई डेङ्गु संक्रमण भएको थियो ।
काठमाडौंमा डेङ्गु संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि झापाको बीएन्डसी अस्पताल ल्याइएको थियो । कलेजो र मिर्गौलाले काम गर्न छाडेपछि मंगलबार बिहान उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले बताए ।
Discussion about this post