मेचीनगर, २३ असोज । नेकपा एमालेले झापा क्षेत्र नं. १ मा तामझामका साथ प्रतिनिधि तथा प्रदेश सभा सदस्यको उम्मेद्वार मनोनयन पत्र दर्ता गरेको छ ।
आज मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा एमालेको ईटाभट्टाको वडा कार्यालयबाट तामझामका साथ र्यालीसहित प्रतिनिधि तथा प्रदेश सभा सदस्यको उम्मेद्वार मनोनयन पत्र दर्ता गरेको हो ।
प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अग्नीप्रसाद खरेल, प्रदेश सभा सदस्य ‘क’ का उम्मेद्वार रविन कोइरालाले मनोनयन पत्र दर्ता गरेका थिए ।
उम्मेद्वार खरेललेको प्रस्तावकमा विष्णु प्रसाई र समर्थकमा श्रीप्रसाद मैनाली छन् । कोइरालाको प्रस्तावकमा राजु कार्की र समर्थकमा बन्धनकुमार मुण्डा रहेका थिए ।
पूर्व कानून मन्त्री, महान्यायाधिवक्ता समेत भइसकेका खरेल एमाले झापाका इन्चार्ज एवम् स्थायी कमिटी सदस्य हुन् ।
त्यस्तै एमालेसँग तालमेल गरेको राप्रपाबाट प्रदेश सभा सदस्य ‘ख’ का उम्मेद्वार सविना बजगाईले पनि मनोनयन पत्र दर्ता गरेकी थिइन् । बजगाईको प्रस्तावकमा दिपेश राई र समर्थकमा देवेन्द्र भट्टराई थिए ।
Discussion about this post