बिर्तामोड, २४ असोज । बडा दशैँको बेलामा तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या गर्ने ३ जनालाई बिर्तामोड प्रहरीले सार्वजनिक गरेको छ ।
सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न ३ जनालाई सार्वजनिक गरेको हो ।
फुलपातीका दिनसँगै तास खेलेका ताप्लेजुङ सिदिम्बा–४ स्थित सुरुमखिम घर भई बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका २५ वर्षीय नविन्द्र गुरुङको हत्या गरिएको थियो ।
घटनामा संलग्न इलाम–१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फिदिम–१२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ–७ घर भई सोही होटल बस्ने आचार्यको श्रीमती २३ वर्षीया बिमला राईलाई प्रहरीले यहि असोज २० गते पाँचथरबाट पक्राउ गरेको थियो ।
घटनामा संलग्न थप १ जना फरार रहेको प्रहरीको भनाई छ । असोज १८ गते उनीहरुले घटनास्थलबाट १५० मिटर पूर्व कान्तिपुर ड्राइभिङ सेन्टर नजिकै लगेर शव खाली जग्गामा फालेका थिए ।
जुवा खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई मसला पिस्ने लोहोरो र चुप्पीले साथीहरुले टाउको पछाडिको भाग र नाकमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरका अनुसार गुरुङको टाउकोमा लोहोरो र धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । जुवामा हारजितको विषयलाई लिएर उनीहरुबीच विवाद भएको उनको भनाई छ ।
Discussion about this post