झापा, २७ असोज । नेकपा एमाले झापा पार्टीका जिल्ला सचिवालय सदस्य डम्बरबहादुर गिरीलाई पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले बिहीबार एक विज्ञप्ति जारी गरी पार्टीको निर्णय विपरित प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका गिरीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यबाट नै निष्काशन गरिएको जनाएका छन् ।
नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरी प्रतिनिधि सभा सदस्य पदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ । तर गिरीले सो को विरोधमा आफैंले उम्मेद्वारी दिएका छन् ।
पार्टीको सचिवालय सदस्य गिरीलाई कारबाही गरी निष्काशन गरिरहँदा सोही विज्ञप्तिमार्फत मेचीनगर ६ का डिल्लीराम घिमिरेको पार्टी सदस्यता फुकुवा गरिएको उल्लेख छ ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य र निर्वाचन क्षेत्र नं. १ को संयोजकको जिम्मेवारीमा रहेका नेता घिमिरेले मेचीनगर नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएपछि उनलाई पार्टीले निष्काशन गरेको थियो ।
घिमिरेको सदस्यता फुकुवा गर्दै एमालेले सञ्चालन गरेको सबै कार्यक्रममा सक्रिय सहभागिताका लागि निर्देशन पनि दिएको विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post