झापा, ११ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशद्रोहीलाई रोक्न पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् ।
शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
‘एमालेको इज्जतका लागि पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ उनले भने, हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ ।’
‘एमालेले समर्थन गरेका सबै उम्मेद्वारले यसपटक जित्ने छन्’,ओलीले भने –‘मुख्य कुरा गठबन्धन हराउने हो ।’ पूर्व प्रधानमन्त्री ओलीले ४ मंसिरको चुनावपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताए ।
‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ । जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’
एमाले एक्लैले बहुमत ल्याउने ओलीको दावी छ । एमालेले बहुमत ल्याए पनि एमालेको साथमा रहेका जसपा र राप्रपासहितको सरकार बन्ने उनले बताए ।
नेपाली कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न नसक्ने उनको भनाई छ । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)पनि यसपटक राष्ट्रिय पार्टी नबन्ने बताए ।
‘कांग्रेस राष्ट्रिय पार्टी हुने नै भयो, माओवादी पनि राष्ट्रिय पार्टी बन्छ सक्छ । तर माधव नेपालहरुले खोलेको पार्टीको हरिबिजोग हुने भयो ।’
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक पद्धतितर्फ कुल सदर मतको ३ प्रतिशत र प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सिट जिते मात्र राष्ट्रिय पार्टी बन्न सक्नेछ ।
Discussion about this post