मेचीनगर, १ पुस । महेन्द्रद्वार सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
काँकरभिट्टा स्थित होटल बुटिकमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहकारी एकमात्र भरपर्दाे माध्यम भएको बताए ।
देशमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न पनि सहकारी आवश्यक देखियो बुढाथोकीले बताउँदै भने, ‘सहकारीको माध्यमबाटै देश कृषिमा आत्मनिर्भर बन्दैछ यसका लागि सबै सहकारी उत्पादनसँग जोडिनु पर्छ ।’
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन इमान्दारी पूर्वक वैज्ञानिक र व्यावसायिक कृषि उत्पादनमा लाग्नुको बिकल्प नरहेको उनको भनाई थियो । सहकारी सदस्यहरुको जीवनस्तर उकास्ने गरी बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रमा जडिबुटी खेती सुरु गरेको भन्दै उनले सहकारीको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितकुमार तामाङ, मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, काँकरभिट्टा साकोसका अध्यक्ष भूपाल शिवाकोटी, मेची सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष बिना तामाङ, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख मुना घिमिरे, जिल्ला सहकारी संघका सदस्य नारायण गौतमलगायतले बोलेका थिए ।
सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहालको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष दाहालले सहकारीको दिगो विकासको लागि ल्याएको नौ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे । ‘सहकारीले श्रममा सदस्य, सदस्यसँग सहकारी’ भन्ने नाराका साथ नयाँ योजना ल्याएको छ । लेखा प्रतिवेदन लेखा संयोजक गिरीराज धमलाले प्रस्तुत गरेका थिए ।
सो अवसरमा सहकारी संस्थाका लेखा संयोजक एवम् जनप्रतिनिधि वडा नम्बर–८ का वडाध्यक्ष गिरीराज धमला, वडा नम्बर–४ का वडाध्यक्ष अर्जुन कुमार कार्की र वडा नम्बर ८ का वडा सदस्य बिष्णुकुमार भट्टराईलाई सम्मान गरिएको छ ।
कार्यक्रमकै अवसरमा सहकारीले हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा हात्तीबाट सुरक्षा दिन मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिलाई ५० थान टर्चलाइट प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष दाहालको सभापतित्व, उपाध्यक्ष युद्धराज ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।
Discussion about this post