मेचीनगर, ९ पुस । राष्ट्रिय वाणिज्य बैंकले धुलाबारीमा २५९औँ शाखा स्थापना गरेको छ ।
शनिबार होटल रोयल निर्भानमा आयोजित शाखा कार्यालयको उद्घाटन झापा–१ प्रदेश (१) का प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए ।
उद्घाटन कार्यक्रमअघि प्रमुख अतिथि तामाङले रिविन काटेर बैंकको धुलाबारी शाखा कार्यालयमा ताम्रपत्र समेत अनावरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तामाङले राष्ट्रिय बाणिज्य बैंक जनताको बैंक बनाउनु पर्नेमा जोड दिएका थिए ।
‘सरकारी निकायका हरेक क्षेत्रमा सिण्डिकेट र माफियाहरुको सञ्जाल छ,’ प्रमुख अतिथि तामाङले भने, वाणिज्य बैंकले माफिया चंगुल र सिण्डिकेट तोडेर सेवाग्राहीलाई विश्वसनीय सेवा दिन सक्नुपर्छ ।’
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरणकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक देशका ७७ वटै जिल्लामा स्थापना भइसकेको र देशमै ‘क’ वर्गका २७ बैंक मध्ये पहिलो र उत्कृष्ट बैंक राष्ट्रिय वाणिज्य बैंक भएको दावी समेत गरेका थिए ।
सिईओ श्रेष्ठले अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब बढी नाफा कमाउन सफल भएको र देशभर ३६ लाख सदस्य रहेको जनाएको छ । आगामी एक वर्षभित्र ३०० शाखा पुर्याउने लक्ष्यका साथ शाखा विस्तारलाई तीब्रता दिँदै आएको उनको भनाई छ ।
प्रतिस्पर्धी बैंकहरु भन्दा अब्बल रहेको बताउँदै सिईओ श्रेष्ठले ग्राहकको सेवा र प्रविधिमा सुधार गरेरअघि बढेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपाकी जिल्ला सदस्य सुनिता शर्मा, मेची उद्योण वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बैंकका प्रदेश १ का प्रबन्धक मणिराज तामाङको सभापतित्व र कार्यक्रमको सञ्चालन केन्द्रीय कार्यालयका व्यवस्थापक जितेन्द्रसिंह थापाले गरेका थिए ।
Discussion about this post