झापा, ४ फागुन । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।
आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको ताम्राकार बताउँछिन् । उनले भनिन्, ‘माननीय ज्यूको २५ देखि ३० प्रतिशत गहिरो जलन छ । बन्द कोठामा भएकोले धुवाँ फोक्सोमा गएको छ । यो रिस्क फ्याक्टर हो ।’
आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिइन् । ‘उहाँलाई गाह्रो भएकाले इण्डियातिर उपचार गर्न सल्लाह पनि दिएको छ,’ मेडिकल डाइरेक्टर ताम्राकारले भनिन्, ‘यति डिप वर्न नेपालमा अलि सहज छैन ।’
अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा.किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिएका छन् ।
(अनलाइन खवर)
Discussion about this post