काँकरभिट्टा, २५ चैत । झापाली चिया व्यवसायीले उत्पादनको गुणस्तरीयतामा ध्यान दिनु पर्ने सरोकारवालाले बताएका छन् ।
आज काँकरभिट्टा स्थित मेची भन्सार कार्यालयको सभाहलमा कोलकाताको नेपाली महावाणिज्य दुताबासले आयोजना गरेको नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रबर्द्धन विषयको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो कुरा बताएका हुन् ।
चिया क्षेत्रका अगुवा इलामको गोर्खा टि–स्टेटका सञ्चालक उदय चापागाईले भारतमा निर्भर भएका चिया व्यवसायीले अब व्यापार अन्य मुलुकमा ड्राइभट गर्नु पर्ने बताए ।
‘भारतमा सिटिसी चिया मात्र बिक्री गरेर हुँदैन’,चापागाईले भने–‘अर्थोडक्स लगायतका चिया चीन, रसिया, दुवाई, पाकिस्तान लगायतका मुलुकमा बजारीकरण गर्नुपर्छ ।’
उनले झापाली चिया व्यवसायीहरुले चियाको गुणस्तरीयता परिवर्तन नगरेसम्म मुल्य पाउन समस्या रहेको दावी गरे ।
कार्यक्रममा सरोकारवालाहरुले नेपाल–भारतको महत्वपूर्ण नाका काँकरभिट्टामा चिया जाँच गर्ने एउटा पनि ल्याव नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले नाकामा चिया परीक्षण गर्ने अन्तराष्ट्रिय ल्याव (मेसिन) नभएको स्वीकार गरेका छन् ।
उनले नाकामा ल्याव राख्न पहल गर्ने दावी गरे । नाकामा ल्याव राख्न करिव ५ करोड खर्च लाग्ने बताइएको छ । अन्तरक्रिया कार्यक्रममा झापा तथा इलामका चिया व्यवसायीहरुले सो माग गरेका हुन् ।
कार्यक्रममा नेपाली महावाणिज्य दुताबास कोलकाताका प्रमुख ईश्वरीराज पौडेल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल चिया उत्पादक संघका झापा अध्यक्ष सुरेश अग्रवाल लगायतले निकासीमा देखिएको चिया व्यवसायीको समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।
Discussion about this post