मेचीनगर, २६ चैत । धुलाबारी–चन्द्रगढी सडक कालोपत्रे बनेपछि साना तथा ठुला सवारी साधनहरु सरर हुईकिन थालेका छन् ।
पूर्वी नाकाबाट चन्द्रगढी पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी–भद्रपुर कालोपत्रे बनेपछि साना तथा ठुला गाडीले यात्रु बोक्न थालेका हुन् । सो सडक दुई लेनको भव्य छ ।
पूर्वाञ्चल जीप व्यवसायी संघ अन्तगर्तका चार वटा म्याजिक गाडीले यात्रुलाई धुलाबारीको दक्षिणतिर पार्वती मेडिकल अगाडि पालैपालो कुरेर बस्ने गरेका छन् । विहान ८ बजेदेखि हरेक आधा घण्टामा एउटा म्याजिक धुलाबारी स्टेन्डमा आउने गरेका छन् ।
धुलाबारीदेखि चन्द्रगढी, ओमसाई पाथिभरा हस्पिटल, मेची क्याम्पस र मेची अस्पतालसम्म यी म्याजिक गाडीले सेवा दिने गरेको टुनटुन म्याजिक सेवाका चालक देवीप्रसाद चापागाईले बताए ।
यो रुटमा चल्ने म्याजिक गाडीले धुलाबारीदेखि चन्द्रगढीसम्म ७० रुपैयाँ, ओमसाई पाथिभरा हस्पिटल र मेची क्याम्पससम्म १०० रुपैयाँ भाडा लिने गरेका छन् । मेची क्याम्पस पढ्न जाने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने गरिएको अर्का म्याजिकका चालक सञ्जय राजबंशीले बताए ।
धुलाबारी–भद्रपुर सडक दुईलेनको पक्की बनेपछि भद्रपुरका अस्पतालहरु, मेची क्याम्पस, चन्द्रगढी एयरपोर्ट र चन्द्रगढीका सरकारी कार्यालयहरु जान साना तथा ठुला सवारी साधनहरु सहज भएको छ ।
काँकरभिट्टादेखि धुलाबारी हुँदै चन्द्रगढी एयरपोर्ट सम्मको यो रुट १९ किलोमिटर लामो रहेको छ ।
Discussion about this post