झापा, २६ चैत । सांसद ढाकाकुमार श्रेष्ठलाई अडियो प्रकरणमा दोषी देखिए ७२ घन्टाभित्र कारवाही गरिसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।
बाराको गढीमाईमा आयोजित एक सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘दोषी देखिए ७० घन्टाभित्र सांसद पदबाट बर्खास्त गरेर उनको ठाउँमा अर्को सांसदलाई प्रवेश गराएको दृश्य सञ्चारमाध्यमबाट हेर्नुहुनेछ ।’
उनले मेडिकल उद्यमी दुर्गा प्रसाईंसँग संवादको अडियो सार्वजनिक भएको एक घन्टाभित्रै सांसद श्रेष्ठलाई स्पष्टीकरण सोधेर छानबिन थालिएको समेत बताए ।
‘७२ घन्टाभित्र छानबिन गरेर कारवाही अघि बढाउन अल्टिमेटम दिएको छु, देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान् । मलाई मतलब छैन’, उनले भनेका छन्, ‘तर, हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ, ७२ घन्टाभित्र छानविन सकिन्छ ।’
यो अवधिमा सांसदको रुपमा वा साधारण सदस्यका रुपमा सांसद श्रेष्ठलाई कुनै कार्य गर्न नदिने भन्दै उनले भने, ‘७२ घन्टाको अल्टिमेटम दिएको दुई घन्टा भइसक्यो, ७० घन्टा बाँकी छ । ७० घन्टामा सत्यतथ्य सार्वजनिक गरेर कारवाही गर्छु ।’
अडियोमा आफ्ना वरपरका मान्छेले मागेको भनिएको भन्दै उनले भने, ‘तिनलाई तपाईंका आँगनमा सडकमा घिसारेर ल्याउन सकिन छु भने तपाईंले भनेको कारबाही भोग्न तयार छु ।’ यसका लागि अनुशासन समितिलाई निर्देशन दिएको उनले बताए ।
‘७० करोड सुन्नुभएको थियो होला, ७० घन्टा सुन्नुस् अब’, लामिछानेले भने, ‘यदी अडियोमा भनिए जस्तो मेरा वरपरका कोही पनि रहेछन् भने ती जति सुकै वरका हुन् तिनलाई कति पर पुर्याउनुपर्छ मलाई राम्रोसँग थाहा छ ।’
(अनलाइन खवर)
Discussion about this post