झापा, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ ।
मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो ।
उनको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ । राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् ।
यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल चैत १८ गते पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
त्यसको फलोअपका लागि उनी सोमबार पुनःअस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो ।
इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए ।
Discussion about this post