झापा, १८ वैशाख । कपनको सरस्वती नगरमा वैशाख ७ गते छुरा प्रहार गरेर निरा पाण्डे आचार्य (निरु) को हत्या भएको थियो ।
प्रहरीले शनिबार राति ११ बजे बिर्तामोडबाट हत्यामा संलग्न रहेको आरोपमा विनोद विकलाई पक्राउ गर्यो । बिर्तामोडबाट पक्राउ परेका विक धुलाबारी निवासी हुन् । कागेश्वरी मनोहरा खोला नजिकै रहेको पिज्जा हब रेष्टुरेन्टबाट रगत लत्पतिएको सर्ट र विकले हत्याका बेला बोकेको झोला प्रहरीले बरामद गरेको छ ।
घटनास्थल आसपासमा रहेका क्लोज सर्किट (सीसी) क्यामरामा देखिएको फुटेजका आधारमा पहिचान गरिएका विकले घटना भएका बेला त्यही सर्ट र झोला बोकेको प्रहरीले बताएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पत्रकार सम्मेलन गरेर विकलाई सार्वजनिक गर्दा झोला र सर्टको तस्वीर पनि सार्वजनिक गरेको छ । तर, हत्यामा प्रयोग भएको भनिएको छुराबारे प्रहरीले केही बताएको छैन । ब्यूरो पुगेका निरुका आफन्तले छुरा कहाँ छ भन्दै प्रश्न गरेका थिए ।
अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार विक वैशाख ७ गते अपराह्न २ : ३० बजेतिर निरु किचनमा प्रवेश गरेका थिए । त्यसअघि पनि आक्रमण गर्ने उद्देश्यले गएपनि छोरी चिया लिएर गएका कारण उनी पैसा निकाल्ने बहाना बनाएर निस्किएको ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए ।
प्रहरीका अनुसार दोस्रो पटक आएका बेला एक्लै देखेपछि पछाडिबाट विकले निरुलाई मुड्कीले हानेर आक्रमण गरेका थिए । तर, प्रतिकार गर्न खोजेपछि पसलमै रहेको छुरा निकालेर प्रहार गरेको उनको बयान छ । ‘कराउन थालेपछि घाँटीमा र पेटमा पटक–पटक छुराले हानेँ’, विकको बयान उधृत गर्दै प्रहरी स्रोत भन्छ, ‘बाहिर थाहा हुने भयो भनेपछि छुराले हानेको थिएँ ।’
त्यो छुरा आफूले लिएरै गएको र मनोहरा खोलामा फ्याँकेको उनको बयान रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post