मेचीनगर, २५ बैशाख । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले ग्राहकलाई विश्वासनीय र भरपर्दो सेवा दिन आग्रह गरेका छन् ।
आज मेचीनगर–७, आयाबारी स्थित माइ वल्ड रिकन्डिसन एण्ड सर्भिस सेन्टरको विधिवत रुपमा उद्घाटन गर्दै मेयर बुढाथोकीले त्यस्तो कुरा बताएका हुन् ।
उनले बिर्तामोड भन्दा राम्रो गुणस्तरीय सेवा दिन सके यस सेन्टरमा ग्रहाकहरुको विश्वास बढ्ने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, समाजसेवीहरु माधव अर्याल, सुरेन्द्र बुढाथोकी, सुशिल आचार्य, बसन्त तिवारी, हर्क फ्याक, सुकमाया लिम्बु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सर्भिस सेन्टरका प्रबन्ध निर्देशक ओमप्रकाश खापुङलले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधानका सबै प्रकारका पाटर्सहरु बिक्री वितरण र मर्मत गरिने बताए । उनका अनुसार बजार भाउँभन्दा केहि कममा सो सेवाहरु उपलब्ध गरिने छ ।
दक्ष, लगनशिल र केहि गर्न चाहने यहाँका स्थानीय युवाहरुलाई सेन्टरले सिटी सफारी किनिदिएर रोजगारी स्रिजना गरिदिने समेत उद्देश्य रहेको खापुङको भनाई छ । सेन्टरमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको ईटाभट्टा चोकदेखि थोरै पूर्वउत्तरमा स्थानीय उमेश थापाको २ कठ्ठा जग्गा लिजमा लिएर सो सेन्टर सञ्चालनमा ल्याइएको छ ।
माइ वल्ड रिकन्डिसन एण्ड सर्भिस सेन्टरका सञ्चालक नारायण चोमबाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको औचित्य माथि प्रकाश एवम् सञ्चालन प्रबन्ध निर्देशक ओमप्रकाश खापुङले गरेका थिए ।
Discussion about this post