झापा, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा सुधार देखिएको भन्दै ब्याज दरमा सुधार आएको र लगानीको वातावरण तयार हुँदै गएको बताएका छन् ।
शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादकत्व वृद्धि गर्ने सरकारको योजना रहेको बताए ।
उनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राजस्व प्रशासनलाई चुस्त बनाउँदै त्यसको दायरा फराकिलो बनाइने बताए ।
राष्ट्रपतिले आर्थिक प्रशासन थप पारदर्शी बनाउँदै सरकारी खर्चलाई मितब्ययी बनाइने बताए । विद्युतीय खरीद प्रणालीलाई क्रमशः अनिवार्य बनाइँदै लगिने जानकारी दिए ।
बित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने भन्दै उनले आन्तरिक ऋणको सीमालाई बढी यथार्थपरक बनाइने बताए । तीनै तहका सरकारको कार्यक्रमलाई सामनजस्यता मिलाएर लगिने बताए । उनले बजारमा तरलता समस्याको अवस्था आउन नदिने बताए ।
बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गर्दै ऋण लगानी उत्पादनमूलक क्षेत्रमा गरिने ब्यवस्था मिलाइने जानकारी दिए । राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
पुँजी बजार विकास र बिस्तारका लागि संरचनागत सुधार गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ । गैरआवासीय नेपालीलाई पुँजी बजारमा खुला गरिने राष्ट्रपति पौडेलले बताए ।
राष्ट्रपतिले बाचन गरेका नीति तथा कार्यक्रममा पुरानै कुरा दोहरिएका छन् । उनले देशभर बीमाको पहुँच बिस्तार गरिने र लघुबीमा गर्न सहजीकरण गर्ने पुरानै कुरा दोहर्याए । १६औं आवधिक योजना तर्जुमा गरिने पनि उनले बताए ।
(पहिलोपोष्ट)
Discussion about this post