मेचीनगर, २० जेठ । नारी कल्याणकारी विकास संस्थाको आयोजनामा पाँच दिने कृष्टलका माला तथा गहना बनाउने तालिम शनिबार सकिएको छ ।
मेचीनगर नगरपालिका-९ को आर्थिक सहयोगमा आयोजित तालिममा ४५ जना महिला गहना बनाउने तालिम सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर–९ का वडाध्यक्ष कञ्चन तामाङले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गरेका छन् ।
उनले यहाँ उत्पादित सामाग्रीको बजारीकरणमा समेत सहयोग गर्ने आश्वासन दिए । उनले हरेक महिलाहरुलाई आफूले सिकेको सीपको आफैं र आफन्तलाई मात्र प्रयोग गराउन सके पनि ठूलो उपलब्धी हुने बताए ।
उनले खुट्टेडाँगी क्षेत्रका महिलालाई कृष्टलको गहना बनाउने सीप भएका महिलाको पहिचान बनाउन र आम आमा, दिदी, बहिनी माझ पुर्याउन आग्रह गरे ।
समाज सुधार महिला संघकी संस्थापक अध्यक्ष लीला कट्टेलले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिइन् ।
उनले फेसबुक र टिकटकमा दिन विताउनुभन्दा रचनात्मक काममा महिलाले सक्रिय भएर समाजमा पहिचान पनि बनाउने सक्ने हुन सबैलाई आग्रह गरिन् ।
कार्यक्रममा सहभागीका तर्फबाट इन्दिरा डाँगी, रिदम नेपालका अध्यक्ष रुद्र रोक्का, प्रशिक्षक यामुना रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाकी अध्यक्ष जानुका ओली न्याैपानेले संस्थामा आवद्ध महिलाहरुलाई व्यवसायिक रुपमा माला तथा गहना बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सीप सिकाएको बताइन् । उनले मेचीनगरका विभिन्न महिला समूहका महिलालाई तालिममा सहभागी गराएको जानकारी दिइन् ।
कार्यक्रममा सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, समाज सुधार महिला संघकी अध्यक्ष संगीता थापा, पत्रकार अम्बिका भण्डारी, महिला नेतृ पुष्पा भण्डारी, प्रतिक्षा पराजुली, वडा नम्बर ९ का सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाकी सचिव लक्ष्मी श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो स्वरुप तालिम लिएका महिलाहरुले बनाउनु भएका कृष्टलका माला, चुरा, औंठी उपचार स्वरुप प्रदान गरिएको थियो ।




Discussion about this post