चारआली, २४ जेठ । बनेपाकी एक महिलाले सम्पूर्ण गोत्रहरुका निमित्त मन्दिर बनाउने तथा पितृ उद्धारका लागि महायज्ञ गर्ने पवित्र उद्देश्य राखेर धार्मिक पैदल यात्रा सुरु गरेकी छन् ।
शिव बाबा भक्त समाज नेपालकी संरक्षक एवम् आफुलाई वनझाँक्रीका रुपमा प्रस्तुत गर्ने सञ्जना तिम्सिनाले २१ महिने पैदल यात्रा ताप्लेजुङको पाथीभरा माताको मन्दिरबाट सुरु गरेकी हुन् ।
सो संस्था सुन्दर हरैँचा–५ मा स्थापित छ । उनले गत बैशाख ३१ गते पाथिभरा मन्दिरबाट अष्ट धातुको मूर्ति बोकेर आएकी हुन् । पैदल यात्राका क्रममा अहिले उनी झापा मेचीनगरको चारआली आइपुगेकी छन् ।
पैदल यात्रा इटहरी र सुन्दर हरैँचामा रहेको बुढीखोलामा पुगेर समापन गरिने उनले बताइन् । पैदल यात्रामा संकलित रकमबाट बुढीखोला छेउमा सम्पूर्ण गोत्रहरुका निमित्त मन्दिर बनाउने लक्ष्य रहेको छ । साथै, पितृ उद्धारका लागि आगामी २०८१ माघ १ गते महायज्ञ गरिने उनले जानकारी दिइन् ।
२१ महिने पैदल यात्रा नाम दिइएको धार्मिक अभियानमा उनीसँगै एउटा गाडी सँगसँगै हिँड्ने गरेको छ । दिनभर पैदल यात्रा गरेपछि जहाँ साँझ पर्छ, उनी त्यहीँ बास बस्ने गरेकी छन् ।
‘पवित्र उद्देश्य बोकेर म पैदल यात्रामा निस्किएकी हुँ,’ सञ्जनाले भनिन्, ‘सबै प्राणी जगतको भलो होस् भनेर धार्मिक अभियानलाई सार्थकता दिने प्रयास गरिरहेकी छु ।’
Discussion about this post