अर्जुनधारा, ४ असार । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले ठिक र त्रुटीरहित ढंगले लिखत राखिनु पर्ने बताएका छन् ।
टाइम्स मिडिया नेटवर्कले आयोजना गरेको तीन दिवसीय लेखन सीप कार्यशालाको आइतवार समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले स–साना त्रुटिले धेरै नागरिकहरु अन्यायमा परेको बताए ।
उनले कुनै पनि मुद्धा मामिला वा गाउँघरमा हुने लिखतमा धेरै संवेदनशील हुनुपर्ने भनाई राखेका थिए । एउटा कित्ता नम्बरमा मात्रै त्रुटि हुँदा ठुला–ठुला घटना भएको उनको तर्क थियो ।
नगर उपप्रमुख तथा न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले लेखनसीप कार्यक्रम आयोजना गरिएको बताइन् ।
उजुरी लेखन, लेनदेन, वैनाबट्टा, सम्झौता, करारनामा, जाहेरी, मेलमिलाप आदि लेख्न सबै सक्षम हुनुपर्ने पराजुलीको भनाई थियो ।
अर्जुनधारा–७ स्थित पितृ मोक्ष भवनमा आयोजित कार्यक्रममा नगरक्षेत्रका ४० जना बढीको सहभागिता रहेको थियो ।
टाइम्स मिडियाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, बोर्ड सदस्य चन्द्रा तामाङ, कानुन अधिकृत एलिना घिमिरे लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
अधिवक्ता हेमकला कट्टेल र चुडामणि पराजुलीले कार्यक्रममा सहजिकरण गरेका थिए । जहाँ उजुरी, प्रतिउत्तर, फिराद, संयुक्त उजुरी, जाहेरी, लेनदेन, मिलापत्र, सीमा विवाद लगायतका विषयमा लेखनसीप प्रदान गरिएको थियो ।
कार्यशालाको कार्यक्रम संयोजनको भूमिका टाइम्स मिडियाका सदस्य एवम् इजलाश दैनिकका सम्पादक प्रदीप परियारले निर्वाह गरेका थिए ।
Discussion about this post