मेचीनगर, ५ असार । जटिल प्रकृतिका विरामी नागरिकका लागि उपचार खर्च वापतको रकम नआएपछि मेचीनगर नगरपालिकाकाले स्वास्थ्य मन्त्रालयलाई फेरि ताकेता गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको हो ।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सो वापतको रकम चाँडो उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई फेरि ताकेता गरेका हुन् ।
नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना बिरामीको आर्थिक बर्ष २०७९÷०८० को लागि उपचार खर्च वापतको रकम सतासी लाख २० हजार रुपैयाँ चाँडो विनियोजन गर्न आग्रह गरेका हुन् ।
उनले नगरपालिकाको तर्फबाट यसअघि पनि मंसिर र बैशाखमा पत्र पठाउँदा त्यसको कुनै सुनुवाइ नभएपछि पुनः मन्त्रालयलाई पत्र पठाइएको बताए ।
राज्यले उपलब्ध गराउने भनेको जटिल प्रकृतिका विरामीहरू मिर्गाैला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सर बिरामी, मेरूदण्ड, पक्षघातका बिरामीहरूलाई औषधि उपचार खर्च वापतको रकम समयमा उपलब्ध नगराउँदा विरामीलाई समस्या भएको छ ।
Discussion about this post