मेचीनगर, ८ असार । विस वर्षअघि नेपाली कथानक चलचित्र दर्पण छायाँबाट आफ्नो करियर बनाएका उत्तम प्रधानलाई अहिले पनि नचिन्ने दर्शक सायद विरलै होलान ।
उनको जन्मभुमी भारत सिक्किम भएपनि कर्मथलो नेपाल रहेको छ । २० वर्षअघि नेपाली चलचित्रबाट उदाएका प्रधानले अबको ६ महिनापछि ‘दर्पण छायाँपछि फेरि’ भन्ने सिक्वेलको चलचित्र निर्माण गरेर बजारमा ल्याउने तयारीमा छन् ।
उनले सिक्किमको आगामी सन २०२४ मा हुने चुनावपछि ‘दर्पण छायाँपछि फेरि’ भन्ने सिक्वेल ल्याउने दावी गरे । त्यसका लागि आफ्ना गुरु तुलसी घिमिरेको सल्लाह अनुसार आफै निर्देशक, निर्माता, पटकथा लेखेर सो सिक्वेल चाँडै सार्वजनिक गर्ने योजनामा उनी छन् ।
त्यो बेलामा दर्पण छायाँ चलचित्र सुपरहिट भएको थियो । तुलसी घिमिरेले निर्देशन गरेको सो चलचित्रमा उत्तम प्रधान मुख्य नायकको रुपमा थिए । उनको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए ।
आज उनी श्रीमती संगीता प्रधानसँगै काँकरभिट्टा आएका थिए । उनले होटल ताजमा आयोजित पत्रकार भेटघाटमा दर्पण छायाँको सिक्वेल ल्याउन लागेको बताए ।
‘मलाई दर्पण छायाँले चिनायो,’ प्रधानले भने, –‘दर्शकबाट पाएको अपार मायालाई मैलै कहिलै बिर्सन सक्दिन । त्यही भएर दर्पण छायाँको सिक्वेल बनाउन लागेको छु ।’ त्यो पहिलाको विरासत अब आउने सिक्वेलले जोगाउने छ, साख बचाउँने आशा गरेको छु ।’
करिव १० वर्षदेखि नेपाली चलचित्र क्षेत्रबाट टाढै रहेका कलाकार प्रधान अहिले आफ्नो जन्मभूमि सिक्किममा जनसेवामा पनि लागेका छन् । उनले त्यहाँ बसेर पनि नेपाली चलचित्रको क्षेत्रमा काम गरिरहेको दावी गरेका छन् ।
नेपाली चलचित्रमा केहि वर्ष ओझेलमा रहेका कलाकार प्रधान सिक्किम सरकारको चलचित्र विकास बोर्डको अध्यक्ष समेत भइसकेका छन् । उनी सन् २०१४ देखि २०१९ सम्म अध्यक्ष बनेर नेपाली चलचित्रको क्षेत्रमा सहयोग गरेको बताए ।
उनको दर्पण छायाँसँगै लहना, मलाई माफ गरिदेउ, परे माया जालमा, बसाई, मितिनी लगायतका तीन दर्जन बढी नेपाली चलचित्रमा उनले अभिनय गरिसकेका छन् । तिनै कलाकार प्रधानले लामो समयपछि चलचित्र क्षेत्रमा सक्रियता बढाउन थालेका छन् ।
‘नेपाली चलचित्रबाट अलग भएको छैन,’ प्रधानले भने, ‘नेपाल सरकार, वडा महारानी र मलाई माया गर्ने दर्शकहरुले अभूतपूर्व सम्मान गर्नु भएको छ । मैले सबै पाए । तर, मैले केहि दिन सकेको छैन । अब यो सिक्वेलबाट दर्शकलाई केहि छाप छाड्ने कोशिस गर्नेछु ।’
Discussion about this post