मेचीनगर, १६ असार । कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् ।
कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा पचास प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा आफू ठगिएको दावी गरेका छन् ।
पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार वटा माछाको भुरा भनेर पाँच सयवटा मात्र दिएर ठगेको उजुरीमा दावी गरेका हुन् ।
माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीलाई उजुरी दिएका छन् ।
उनीहरुले माछाको भुराको लागि प्रतिगोटा डेढ रुपैयाँका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए । पालिकाले प्रतिगोटा तीन रुपैयाँ पर्ने भनिएको माछाको भुराको लागि डेढ रुपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो । सोही आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भूरा उपलब्ध गराएको थियो ।
पालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो । गाउँपालिका अध्यक्ष राजवंशीले कर्मचारीबाट त्रुटि भएको बताए ।
‘सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ’, अध्यक्षले भने–‘ कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारवाही गर्छौं । घटनाको यथार्थ के हो बुझेर चाडै सार्वजनिक गछौँ ।’
Discussion about this post