झापा, १७ असार । पहिचानबादीको समूहले आज बिर्तामोड नगरपालिकाको साइनबोर्डमा लेखिएको ‘कोशी प्रदेश’मा कालो रंगले पोतिदिएका छन् ।
दिउँसो कालो झण्डासहित आएको समूहले बिर्ताबजार स्थित नगरपालिकाको कार्यालयमा प्रवेश गरी भवनको माथिल्लो तलामा भित्तामा रहेको नाममा कालो रंग पोतेको हो ।
प्रत्यक्षदर्शीहरुका अनुसार साना समूहमा आएका पहिचानबादीहरुमध्ये एक महिलाले सरासर भवनको माथ्लो तलामा चढेर बाहिरपट्टिको भित्तामा नाम मेटेकी हुन् ।
उनीहरुले केहीबेर ‘कोशी प्रदेश’ नामाकरणको विरोधमा नाराबाजी समेत गरेका थिए । ‘कोशी प्रदेश’को नामाकरण भएपछि साविक १ नं. प्रदेशका पहिचानबादीहरुको विभिन्न समूह निरन्तर आन्दोलनमा रहेको छ ।
नगरपालिकामा ‘कोशी प्रदेश’ मेटिरहँदा त्यहाँ उपस्थित आन्दोलनकारीहरुले लिम्बुवान किरात प्रदेश लेख्न हुटिङ गरेका थिए । तर, ‘कोशी प्रदेश’ मेटेर ती महिला ओर्लिएकी थिइन् ।
घटना भएका बेला नगरप्रहरी र कर्मचारीहरु रमिते थिए । शान्तिपूर्ण रुपमा ‘कोशी प्रदेश’ मेट्ने कार्यक्रम सम्पन्न गरेर उनीहरु नगरपालिकाबाट बाहिरिएका थिए ।
यसैगरी उनीहरुले बिर्तामोड कै यातायात व्यवस्था कार्यालय मेचीमा पनि गएर ‘कोशी प्रदेश’ लेखिएको नाममा कालो रंगले पोतिदिएका छन् ।
Discussion about this post