मेचीनगर, २० असार । नेपाल विद्युत प्राधिकरणको असार महिनाको विद्युत महसुल ह्वात्तै बढेको छ ।
असार महिनाको विद्युत महसुल सबै ग्राहककाे घरमा बढेर आएको छ ।
विद्युत प्राधिकरणले हरेक वर्ष विशेष गरेर असार महिनामा महसुल ह्वात्तै बढाउने गरेकाे ग्राहकहरुकाे भनाई छ ।
विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र अन्तर्गतका अधिकांश ग्राहकको महसुल बढेर आएको छ ।
बिजुलीको महसुल अरू महिनामा खपत अनुसार नै आउने गर्दछ । तर, असार महिनामा नै महसुल अस्वाभाविक रुपमा बढ्नुकाे कारण बारे ग्राहकले जिज्ञासा राखेका छन् ।
मेचीनगर-९ निवासी देवी भण्डारीले असार महिनाको बिल धेरै आएको बताइन् । उनले अरु महिना २०० रुपैयाँ जति आउने गरेको र यसपाली ७४० रुपैयाँको बिल आएको बताइन् ।
यस्तै, मेचीनगर-७ निवासी गायत्रादेवी बोहोराले पनि विजुलीको विल बढेर आएको बताइन् । अघिल्लो महिना ५ सय जतिको आउने गरेको र यसपाली १९ सय रुपैयाँको बिल आएको बताइन् ।
नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष क्लोजिङ गर्ने बहानामा ग्राहकबाट मनपरी रकम असुल्न खोजेको ग्राहकहरुकाे आरोप छ । तर, विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रकाे भनाई बेग्लै छ ।
धुलाबारी शाखाका प्रमुख सुनिल कुमार महतोले गर्मी मौसमका कारण महसुल बढेर आएको हुन सक्ने बताए । ‘गर्मी मौसममा बिजुली बढी खपत हुने गर्दछ,’ उनले भने, ‘यसमा आशंका गर्नु पर्दैन ।’
उनका अनुसार असोज महिनादेखि फागुनसम्म सामान्य र बैशाखदेखि भदौसम्म उच्च बिजुली खपत हुने गर्दछ । धुलाबारी वितरण केन्द्र अन्तर्गत मेचीनगरमा करिव ५० हजार ग्राहकले सेवा लिएका छन् ।
Discussion about this post