विराटनगर, २३ असार । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेको छ ।
आज एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेको नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको भण्डारीले बताए ।
‘सभामुखको समर्थनमा सरकार गठन हुँदैन, त्यसकारणले यो गलत छ’ उनले भने, ‘उत्प्रेषणको आदेशबाट बदर गरी पाउँ भन्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दायर गरेको हो ।’
विहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दावी गरेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुख बाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद छन् ।
सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दावी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । उनले शुक्रबार विहान शपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।
Discussion about this post