मेचीनगर, २५ असार । मेचीनगर–१५ स्थित ज्यामिरगढीका २६ वर्षीय जयराम दाहालले ८ हजार १०० मिटरको उचाई आरोहण गरे पनि सगरमाथा चढन सकेनन् । तर, त्यहाँ सम्मको अनुभव सुनाएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गत चैतमा उनी सगरमाथा मिसनमा गएका थिए । तर, सफल भएनन् । चुचुरोमा पुग्न ७०० मिटर मात्र बाँकी रहँदा दाहिने हातको औला हिउँले खाएर घाइते भएपछि उनी फर्किन बाध्य भए ।
हिमाल पदयात्रा सम्बन्धी गाइडको रुपमा लामो समयदेखि कार्यरत दाहालले सगरमाथा आरोहणमा जाँदाको रोमाञ्चक अनुभूति आइतबार मेचीनगरका सञ्चारकर्मीहरुलाई सुनाए ।
‘सगरमाथा चढ्ने मेरो सानैदेखिको ईच्छा थियो,’ उनले भने–‘यसपटक हिउँले औला खाएका कारण चुचुरोको नजिकै पुगेर फर्किन बाध्य भए । आउँदो साल चुचुरोमा पुगेरै आउँछु ।’ प्रायः सगरमाथा चढ्ने सिजन भनेको चैत र वैशाख हो ।
नेपालमा ८००० मिटर माथिका १४ वटा चुचुरो रहेको र ती सबैको आरोहण जीवनमरणको सवाल बन्ने उनले बताए ।यसअघि उनले सगरमाथा नजिकैको ६००० मिटर माथिको आइल्यान्ड चुचुरोको सफलतापूर्वक आरोहण गरेर प्रमाणपत्र पाइसकेका छन् । आइल्यान्ड चुचुरो अमादब्लम र ल्होत्से हिमालको बीचमा पर्दछ ।
प्रायः आरोहीहरुले साथमा गाइड, भरिया, भान्से र लियाजो अफिसर लिएर जाने गर्दछन् । तर, दाहाल एक्लै आरोहणमा गएका थिए । आरोहणमा १८ लाख रुपैयाँ निजी खर्च भएको र सो रकम विगतमा ट्रेकिङ गाइडको काम गर्दा आर्जेको रकम रहेको उनले बताए ।
आरोही जयराम मेचीनगरकी पत्रकार रीता दाहालकी भाइ हुन् । उनी ट्राभल भ्लग र फेसबुक पेज चलाउछन् ।
आरोहणमा परिवारका सदस्य र शुभचिन्तकहरुको हौसला र सपोर्ट रहेको उनले बताए । भविष्यमा विश्वका सात मुलुकमा रहेका उच्च हिमशिखरको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।
प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव देबु बानियाँले गरेका थिए ।
Discussion about this post